विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २० साउन – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गर्दै सबै सरकारी निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ।
आज शहरी विकास मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानविर राई, मुख्यसचिव एकनारायण अर्याल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट सहभागी हुनुहुन्थ्यो। बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागमा देखिएका मनसुनजन्य जोखिमबारे जानकारी लिनुभएको थियो।
उहाँले पूर्वतयारीका लागि आवश्यक सतर्कता अपनाउन, विपद् घटिहालेमा क्षति न्यूनीकरण गर्न तथा खोज तथा उद्धार कार्यका लागि ‘हाइअलर्ट’ मा रहन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको हो। साथै, सम्भावित जोखिम क्षेत्रमा एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन निर्देशन दिनुभयो।
प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बैठकमा लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी दिनुभयो। भारी वर्षाका कारण बबई र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार भएको र बर्दिया क्षेत्रमा आगामी ४ देखि ५ घण्टामा डुबान हुन सक्ने सम्भावना रहेको जानकारी गराउनुभयो।
त्यसैगरी, मधेस प्रदेशमा देखिएको खडेरीबारे पनि कार्यवाहक प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभयो। भट्टले मधेसमा हाल हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी गराउनुभयो। आज राति कैलाली र कञ्चनपुरमा पनि भारी वर्षाको सम्भावना रहेको बैठकमा जानकारी दिइयो।
मकवानपुरमा पनि मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ। गृहमन्त्री लेखकले मनसुनजन्य विपद् सम्भावनालाई ध्यानमा राख्दै सबै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन दिएको जानकारी गराउनुभयो।

