प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
काठमाडौँ, १९ साउन – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन आज मध्यराति तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पर्यटनमन्त्री बद्री पाण्डे लगायतले विदाई गरे। नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो।
साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) तुर्कमेनिस्तानको अवाजा शहरमा हुने उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले एलएलडिसी समूहका अध्यक्षका रूपमा सम्बोधन गर्नुका साथै उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नेछन्। विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र अन्तरराष्ट्रिय संस्थाका अधिकारीहरूसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम छ।
सम्मेलनमा एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्ठित विकासशील देशहरू सहभागी हुनेछन्। सम्मेलनले पारवहनमा निर्भर रहेका मुलुकहरूको व्यापार, पूर्वाधार, यातायात तथा आर्थिक चुनौती समाधानमा रणनीतिक साझेदारी र लगानी वृद्धि गर्न मार्गदर्शन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि सन् २०१४ नोभेम्बर ३–५ मा अस्ट्रियाको भियनामा दोस्रो सम्मेलन सम्पन्न भएको थियो। प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतको उच्चस्तरीय टोली सहभागी छ। प्रधानमन्त्री यही साउन २३ गते राति स्वदेश फर्किने कार्यक्रम छ।

