बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा

काठमाडौँ, १८ साउनः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिएका छन्। ९ साउन २०८१ मा पदभार ग्रहण गरेका लामाले करिब एक वर्ष नौ दिनपछि आइतबार पद त्याग गरेका हुन्।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामा तामाङ समुदायका पहिलो प्रदेश प्रमुख हुन्। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको लामाले बताए।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरको प्रदेश सुशासन हलमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरे।

उनले आफू इमान्दारितापूर्वक काम गरेको दाबी गर्दै दलभित्रकै प्रपञ्चका कारण पद त्याग्नुपरेको उल्लेख गरे। लामाले भने, “मैले यो घटनाक्रमबाट भाग्ने छैन। तर यसले लोकतन्त्र र गणतन्त्र दुवैलाई खतरा हुने संकेत गरेको छ।”

Facebook Comments Box