पेप्सिकोलामा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौँ, साउन १५ – काठमाडौँको पेप्सिकोला नजिक पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–३ घर भएका २५ वर्षीय नवराज तुमसिङको गएराति पौने ९ बजे दुर्घटनापछि उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरी परिसर काठमाडौँका अनुसार, जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा.प्र ०१–००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशाबाट आइरहेको बा.प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तुमसिङ गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा उनलाई केएमसी अस्पतालगीएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।मोटरसाइकल चालक २६ वर्षीय सन्तोष मगर घाइते भएका छन्। उनी पनि काभ्रेको रोसी–३ का बासिन्दा हुन्। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्यांकर चालक धादिङका ४७ वर्षीय रामबहादुर थापालाई कोटेश्वर प्रहरी प्रभागले नियन्त्रणमा लिएको छ।

Facebook Comments Box