एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

झापा, १५ साउन – विर्तामोड नगरपालिका–७ का युवा कृषक प्रदीप खनाल यतिबेला आफ्नै बोडी खेतमा व्यस्त छन्। उहाँको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्रामसम्म बोडी उत्पादन हुँदै आएको छ, जुन विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका सातवटा तरकारी पसलमार्फत बिक्री हुँदै आएको छ। खनालले ४५ बिगाहा जमिन भाडामा लिएर कृषिकर्म गरिरहेका छन्, जसमा १६ कट्ठामा बोडीखेती गरिएको छ।

अहिले आठ कट्ठामा बोडी फलेको छ भने बाँकी आठ कट्ठामा छिट्टै फल लाग्ने तयारीमा छ। सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठा जमिनबाट तरकारीखेती सुरु गरेका खनाल अहिले व्यावसायिक कृषकको रूपमा परिचित छन्। नगरपालिकासँग सहकार्यमा काम गर्दा बजार मूल्य घटे पनि न्यूनतम मूल्य (समर्थन मूल्य) पाउने ग्यारेन्टीले खनाल ढुक्क हुनुहुन्छ।

“बजार मूल्य घट्दा पनि रु ३० प्रतिकेजीमा बोडी बेच्न सकिने भएकाले घाटाको चिन्ता छैन,” खनालले बताए। खनालको फार्ममा अहिले २० बिगाहा क्षेत्रमा धान, पाँच बिगाहामा विभिन्न तरकारी र १५ बिगाहामा अम्बक, बयरजस्ता फलफूल खेती हुँदै आएको छ। उहाँका अनुसार वार्षिक रु एक करोडसम्म मुनाफा हुने गरेको छ भने यो वर्ष रु दुई करोडसम्म तरकारी बिक्री हुने अपेक्षा गरिएको छ।

फार्ममा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दर्जनौँले सिजनअनुसारको अस्थायी काम पाइरहेका छन्। “विदेशिनु नै पर्ने हो भन्ने सोचलाई मैले तोडेको छु,” खनाल भन्छन्, “व्यावसायिक रूपमा कृषि गरे राम्रो आम्दानी हुन्छ भन्ने सन्देश दिन चाहन्छु।” विर्तामोड नगरपालिका ‘पारिको होइन, वारिको’ अभियानअन्तर्गत स्थानीय तरकारी र फलफूल उत्पादनमा जोड दिइरहेको छ।

कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाका अनुसार भारतबाट हुने आयात प्रतिस्थापन गरी स्थानीय किसानलाई प्रोत्साहन गर्न यो अभियानले भूमिका खेलेको छ। “हामीले बोडीको समर्थन मूल्य रु ३० तोकेका छौं। सो मूल्यमा बिक्री नभए घाटा पूर्तिको व्यवस्था गर्छौं,” कडरियाले बताए। “अन्य तरकारी र फलफूलमा पनि यस्तै नीति अपनाएका छौं।”

Facebook Comments Box