प्रधानमन्त्री ओलीद्वारा रानी जमरा कुलरिया सिँचाइ र जलविद्युत् परियोजनाको उद्घाटन
कैलाली, १३ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत थप सिँचाइ, जलविद्युत् उत्पादन र प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने योजना र ४.७१ मेगावाट क्षमताको जलविद्युत् आयोजना, साथै ३३ केभी क्षमताको प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो।
कैलालीको जानकी गाउँपालिका–९ कटासेमा रहेको सिँचाइ नहरमार्फत उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। राष्ट्रिय गौरवको सूचीमा समावेश यस आयोजनाको दोस्रो चरण सम्पन्न भइसकेको र अब तेस्रो चरणको कार्य प्रारम्भ गरिएको जनाइएको छ।
आयोजनाले यसअघि टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकालाई सेवा दिँदै आएकोमा तेस्रो चरणबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडी लगायतका पालिकामा सिँचाइ सेवा विस्तार गरिनेछ। यसले कृषि उत्पादन वृद्धिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले उक्त आयोजनालाई नेपालको जलस्रोत र ग्रामीण कृषि विकासमा एक ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्दै, “यो आयोजनाले ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको नमुना प्रस्तुत गर्दछ,” भन्नुभयो।
उहाँले १२० वर्षअघि स्थानीय किसानहरूको सामूहिक प्रयासबाट सुरु भएको परम्परागत सिँचाइ प्रणालीलाई आधुनिक रूप प्रदान गर्न सफल भएकोमा स्थानीय सहभागिता र सरकारको सहकार्य प्रमुख कारण रहेको बताए।
प्रधानमन्त्रीले सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिनजस्ता अन्य राष्ट्रिय गौरवका बहुद्देश्यीय आयोजना छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिनुभयो।

