एनआरएनए बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित
बेलायत, ११ साउन — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ। गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्नुभएको हो। पुडासैनीले १४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको छ भने खरेलले ९७७ र खत्रीले ४९६ मत पाएका थिए।
उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल; महासचिवमा दिवाकर पाण्डे; खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटा विजयी हुनुभएको छ। सदस्यमा विष्णु खरेल र छविलाल अर्याल निर्वाचित भएका छन् भने इङ्ग्ल्यान्ड राज्य परिषद् अध्यक्षमा राममाया विष्ट थापा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई थप सशक्त र सबल बनाउन तल्लो तहसम्म पुग्ने अभियान सुरु गरिएको बताउनुभएको छ। उहाँले सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना रहेको उल्लेख गर्नुभएको छ।

