निस्कोटका १२५ घरपरिवारलाई खानेपानीको सहज पहुँच

म्याग्दी, ११ साउन — मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’ परियोजनाअन्तर्गत खानेपानीको पहुँच विस्तार भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको आर्थिक र प्राविधिक सहयोग तथा स्थानीयहरूको श्रमदानबाट यो योजना सम्पन्न गरिएको हो।

रु ९४ लाख लागतमा बनेको योजनाबाट १२५ घरपरिवारले स्वच्छ पानी पाइरहेका छन्। घरघरासँगै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिक स्थलमा समेत थप सातवटा धारा जडान गरिएको छ। मुख्य पाइपलाइन १६ किलोमिटर लामो छ र यसमा १३ ट्याङ्की, दुई डिपिटी लगायतका संरचना निर्माण गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनका अनुसार पुरानो प्रणालीमा पालो लागेर पानी लिनुपर्दा असुविधा थियो, अहिले घरघरामा पाइपबाट पानी पुगेपछि समय बचत र झन्झट हटेको छ।

पानीको मितव्ययी र दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरी शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ। योजना निर्माणका लागि स्थानीयहरूले प्रतिघर ९० दिन श्रमदान गरेका छन्। नेवाका प्राविधिक छमीराम शर्माका अनुसार रु ६४ लाख नेवाको सहयोग र रु ३० लाख स्थानीय श्रमदानबाट यो योजना सम्पन्न भएको हो। गत वर्ष मालिकाका अन्य टोलमा बनेको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए।

Facebook Comments Box