मुख्यमन्त्री लामाद्वारा चार मन्त्री पदमुक्त
बागमती, १० साउन – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गर्नुभएको छ।
मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गरी नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम चार मन्त्रीलाई पदमुक्त गरिएको जानकारी गराउनुभएको हो। चारै मन्त्रीले शुक्रबार ‘ह्वाट्सप’ मार्फत मुख्यमन्त्रीलाई राजीनामा बुझाएको समाचार छ।
उनीहरू सबै नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी थिए। राजीनामा पेस गरेसँगै मुख्यमन्त्री लामाविरुद्ध ती चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

