खोटाङमा सवारी कारबाहीबाट रु ४९ लाख राजस्व सङ्कलन

खोटाङ, १० साउन – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१/८२ मा सवारी कारबाहीबाट कुल रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ। साउन १ गतेदेखि असार मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ५७४७ वटा सवारीसाधन कारबाहीमा परेका थिए।

तीमध्ये ३११५ वटा कार, जिप र भ्यानबाट रु ३६ लाख ७७ हजार, १३४६ वटा मोटरसाइकलबाट रु ११ लाख ५६ हजार ५००, ५७७ वटा ट्रकबाट रु ५ लाख २० हजार, १३६ वटा बसबाट रु १ लाख २१ हजार ५०० सङ्कलन भएको छ। यसका अतिरिक्त ट्रिपर, ट्र्याक्टर र टेम्पोबाट पनि लाखौँ राजस्व प्राप्त भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक पितम राईले जानकारी दिनुभयो।

गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व कात्तिक महिनामा रु ७ लाख ५१ हजार ५०० सङ्कलन गरिएको थियो, जसमा ८४४ वटा सवारीसाधन कारबाहीमा परेका थिए। जिल्लामा भएका १३३ वटा सवारी दुर्घटनामा १३६ जना घाइते भएका छन् भने ६ जनाको ज्यान गएको छ।

कारबाहीमा परेका सवारी साधनहरूमा बिना अनुमतिपत्र सवारी चलाउने, कागजपत्र नभएको, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, सिटबेल्ट नलगाउने, हेलमेट नलगाउने लगायतका उल्लङ्घन समावेश छन्।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालक र सवारीधनीलाई कारबाहीका साथै ट्राफिक नियम पालनासम्बन्धी प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। खोटाङमा करिब तीन हजार सवारीसाधन सञ्चालनमा रहेका छन् र जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै सवारी साधनको प्रयोगकर्ता सङ्ख्या वृद्धि हुँदै गएको छ।

अधिकारिक रूपमा बिना रुट पर्मिट सञ्चालित सवारी दुर्घटना हुँदा सवार यात्रुहरूले क्षतिपूर्ति पाउने छैनन् र उपचार खर्च आफैले व्यहोर्नुपर्ने व्यवस्था छ। त्यसैले यात्रुहरूले पनि आफ्नो सुरक्षा र कानूनी संरक्षणका लागि अनुमति प्राप्त सवारी प्रयोग गर्नुपर्ने ट्राफिक प्रहरीले जनाइएको छ।

Facebook Comments Box