डेङ्गु नियन्त्रणका लागि जनचेतनामूलक अभियान सञ्चालन

काठमाडौँ, ९ साउन – वर्षायाममा तीव्र रूपमा फैलिने डेङ्गु रोगको जोखिम न्यूनीकरणका लागि काठमाडौँमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

काठमाडौँ महानगरपालिका–४ बालुवाटार, टुँडालदेवी र इच्छुमति क्षेत्रमा सामुदायिक सेवा केन्द्र टुँडालदेवी, सामुदायिक प्रहरी सेवा केन्द्र र इच्छुमति टोल सुधार समितिको संयुक्त पहलमा अभियान सञ्चालन गरिएको हो।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले लक्षण नदेखिए पनि डेङ्गु सङ्क्रमण हुने सम्भावना रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा नेपाली सेनाका पूर्वरथी यादव रायमाझी, पूर्वउपरथी शिवराम प्रधान, प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाह र निरज शाही, साथै प्रहरीवृत्त मालीगाउँका प्रहरी निरीक्षक दावा तेञ्जिङ शेर्पालगायत विभिन्न विद्यालयका विद्यार्थी र स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो।

Facebook Comments Box