बलेवामा झाडी फाँडेर घाँसखेती, घरघरमा व्यवस्थित बाख्रापालन सुरु

बागलुङ ,९  साउन – बागलुङ नगरपालिका–५ मालिकास्थित साँधखोला गाउँका महिलाहरूले झाडी फाँडेर घाँसखेती सुरु गरेका छन्। घरघरमा व्यवस्थित बाख्रापालनसँगै महिलाहरू आम्दानीमा जोडिएका छन्। सँधैदेखि पशुपालन हुँदै आएको यस क्षेत्रमा अहिले प्रगतिशील महिला समूहमा आबद्ध २६ जना महिलाहरू बाख्रापालनमा जुटेका छन्।

बाख्राबाट हुने आम्दानीले घर खर्च र बालबच्चाको पढाइ खर्च समेत जुटाउन थालेको समूह अध्यक्ष कोपिला किसानले जानकारी दिनुभयो। बाख्रापालनको सीप र बीउ पुँजी बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसनले उपलब्ध गराएको छ भने वडा कार्यालयले आवश्यक आहार र व्यवस्थापनमा सहयोग गरेको हो।

७० रोपनी सामुदायिक वन क्षेत्रमा महिलाहरूले झाडी फाँडेर उन्नत जातका घाँस रोपेका छन्। “चिसो र मलिलो ठाउँ भएकाले हिउँद–बर्खा दुवै मौसममा घाँसको अभाव नहोस् भनेर योजना बनाइएको हो,” वडाध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो।

समूहका सदस्य बाटुली किसानका अनुसार, वनमारा हटाएर किम्बु, सुपर नेपियर, खन्यु लगायतका बिरुवाहरू रोपिएका छन्। आँठो छुटाएर भाग लगाइएकाले महिलाहरू आफ्नै बारीजस्तै त्यस क्षेत्रको हेरचाह गरिरहेका छन्। बाख्रापालन, घाँसखेती र खोर निर्माणमा तालिम पाएका महिलाहरूको यो प्रयासले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box