एमाले अध्यक्षमा फेरि ओली नै हुने महेश बस्नेतको प्रस्ताव

काठमाडौं, ३ साउन – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको आगामी कार्यकालमा पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्।

शनिबार सम्पन्न पार्टी बैठकमा धारणा राख्दै बस्नेतले भने, “हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु।”

उनले एमालेभित्र नेतृत्वको समर्थन गर्नेहरुलाई असक्षम देखाउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। “जतिसुकै असक्षमको ट्याग लागेपनि परिभाषित काममा आफ्नो क्षमता प्रदर्शन गरौंला,” उनले भने।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे बोल्दै बस्नेतले सो निर्णय केन्द्रीय कमिटीबाट नै हुनुपर्नेमा जोड दिए।

“उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन — यति गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नुपर्छ,” उनले भने।

साथै उनले पूर्वराष्ट्रपतिको गरिमा र जिम्मेवारीलाई ध्यानमा राखी सक्रिय राजनीतिमा फर्किंदा कुनै प्रक्रियागत वा नैतिक गल्ती हुनु नहुने उल्लेख गरे।

बस्नेतले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमा जस्ता विषयलाई लिएर पार्टी र नेतृत्वमाथि जालझेल वा षड्यन्त्रको आरोप नलाउन आग्रह गरे। उनको भनाइ थियो, “क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔं।

अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ भने पास गरौं।” विद्या भण्डारीलाई वैकल्पिक नेतृत्व बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले त्यसलाई बन्द गर्न पनि आग्रह गरेका छन्।

Facebook Comments Box