एमाले सचिवालय बैठक: ७० वर्षे उमेर हद र दुई कार्यकाल सीमा हटाउने निर्णय

काठमाडौँ, २ साउन – नेकपा (एमाले) को सचिवालय बैठकले पार्टी नेतृत्वका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। बिहीबार राति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनका लागि विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिएको हो।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावमा विधान (२०७८ संशोधन) को धारा ६४ अन्तर्गत रहेका उमेर र कार्यकालसम्बन्धी सीमा हटाउने व्यवस्था समावेश गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

सचिवालयबाट अनुमोदित उक्त प्रस्ताव शुक्रबार बिहान ११ बजे बस्ने पोलिटब्युरो बैठकमा पेश गरिनेछ। त्यसपछि साउन ५ गतेको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने तयारी गरिएको छ। अन्तिम स्वीकृति भने भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनबाट हुनेछ।

बैठकले आगामी पोलिटब्युरो ८४ सदस्यीय र केन्द्रीय कमिटी २५१ सदस्यीय रहने निर्णय पनि गरेको छ। पदाधिकारीको संख्या भने १५ रहनेछ। सचिवालय बैठकमा सदस्य संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ। उपमहासचिव ज्ञवालीका अनुसार अब पार्टीमा दुई किसिमका सदस्य रहनेछन्—साधारण सदस्य र संगठित सदस्य।

विधान संशोधन पारित भएसँगै एमालेमा दीर्घकालीन नेतृत्वको ढोका फेरि खुलेको छ। अध्यक्ष ओली स्वयं दुई कार्यकाल अध्यक्ष भइसकेका र ७० वर्ष उमेर नजिक पुगिसकेका छन्। यो निर्णयले उहाँको पुनः उम्मेदवारीका लागि मार्ग प्रशस्त गर्ने राजनीतिक सन्देश दिएको छ।

Facebook Comments Box