देशभित्रका समस्या समाधानमा कांग्रेस गम्भीर बन्नुपर्छ : महामन्त्री गगन थापा
ललितपुर, १ साउन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानमा पार्टीले गहिरो ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेस आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको “कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना” विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उहाँले समस्या समाधानका छलफललाई कार्यान्वयनसम्म पुर्याउन जोड दिनुभयो।
महामन्त्री थापाले भने,
“युवालाई प्रविधिको माध्यमबाट रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्छ। कांग्रेसको पार्टी कार्यालयमा हुने छलफलहरू नतिजामुखी हुनुपर्छ, सरकारले के गर्ने हो भन्ने विषयमा छलफल गर्नु मात्र होइन, त्यो कार्यान्वयनमा पुर्याउनु आवश्यक छ।”
उहाँले नीति निर्माण मात्र होइन, नीतिगत ज्ञानको कार्यान्वयनबाट देखिने प्रभाव र नतिजा महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।
“हाम्रो नेतृत्व प्रदेश र स्थानीय तहमा छ, त्यसैले प्रत्येक स्थानीय तहमा रोजगारी सिर्जना गर्ने र उद्यमशीलता बढाउने नीतिहरू लागू हुनुपर्छ।”
थापाले कांग्रेसले अब विरोधको राजनीतिभन्दा सम्भावना, उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो।
“बजार अनुकूल शिक्षा, सीप, र ज्ञानको विकास गर्नुपर्छ। नयाँ पुस्तालाई समस्या सिर्जना गर्ने होइन, समाधान गर्न सक्ने बनाउने खालको नीति आवश्यक छ।”
अन्य नेताहरूको धारणा :
-
उमेश श्रेष्ठ (कोषाध्यक्ष):
शिक्षामा आमूल सुधार ल्याउनुपर्ने बताउँदै पुरानो शिक्षा प्रणाली नै समस्याको जड भएको धारणा। सातै प्रदेशमा रोजगारी सिर्जना गर्न औद्योगिक विकास जरुरी। -
चीनकाजी श्रेष्ठ (केन्द्रीय सदस्य):
नीति राम्रो भएर पनि कार्यान्वयन कमजोर हुँदा समस्या हुने भन्दै तुलनात्मक लाभ हासिल गर्ने रणनीति अवलम्बन गर्नुपर्ने सुझाव। -
उदयशम्शेर राणा (केन्द्रीय सदस्य):
भारत र चीनसँग प्रतिस्पर्धा गर्न सूचना प्रविधि र कृषि क्षेत्रमा युवालाई प्रोत्साहन गर्न जोड। बजार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उल्लेख। -
डा गोविन्दराज पोखरेल (विभाग प्रमुख):
राज्य अभिभावकको रूपमा सम्भावना र अवसरलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राख्दै युवामुखी नीति अपरिहार्य भएको बताए। -
अस्मिन सिटौला (उद्यमशील कांग्रेस अध्यक्ष):
उद्यमीका मुद्दा सबै राजनीतिक एजेन्डामा समेटिनुपर्ने भन्दै उद्यमशीलता र विकासको एजेन्डा जोड्नुपर्ने आवश्यकता औंल्याए। -
डा प्रकाश छत्कुली (अर्थशास्त्री):
युवामुखी योजना आवधिक योजना र वार्षिक बजेटमा स्पष्ट समावेश गर्नुपर्ने सुझाव। योजनाको कार्यान्वयनमा जवाफदेहिता र सुरक्षाको प्रत्याभूति आवश्यक। -
विनयकुमार कुसियत (विभाग सदस्य):
युवालाई प्रविधिमैत्री शिक्षा, ज्ञान र सीपसँग जोड्दै आर्थिक सशक्तीकरण र उद्यमशीलतातर्फ अगाडि बढाउनु पर्ने धारणा।
गोष्ठीमा सहभागी अधिकांश नेताहरूले युवामुखी नीति, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, शिक्षा प्रणालीको सुधार, र कार्यान्वयनको प्रभावकारिता जस्ता मुद्दामा कांग्रेसले अब ठोस कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
महामन्त्री थापाको नेतृत्वमा अब विकास, समाधान र सम्भावनाको राजनीतिमा कांग्रेस के कति अगाडि जान्छ, भन्ने चासो थपिएको छ।

