विद्या भण्डारीको राजनीतिमा आउने घोषणाले पार्टीमा ध्रुवीकरण बढायोः अध्यक्ष ओली
काठमाडौँ, १ साउन – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणाले पार्टीभित्र ध्रुवीकरण बढाएको बताएका छन्। च्यासलमा जारी एमाले सचिवालय बैठकमा ओलीले उक्त विषयमा स्पष्ट धारणा राख्दै पार्टीभित्र एकता आवश्यक रहेको बताएका हुन्।
ओलीले भने, “उहाँको प्रवेशले पार्टीभित्र ध्रुवीकरण बढायो। हामीले गणतन्त्रको गौरवस्वरूप उहाँलाई सम्मान गरेका थियौं। त्यसबेलासम्म राजनीतिमा फर्कने कुनै संकेत थिएन।
तर अब उहाँले पार्टीमा मात्र होइन, अध्यक्ष बन्ने घोषणासमेत गरिसक्नुभएको छ। यस्तो अवस्थामा हामी एकताबद्धरूपमा अगाडि जानुपर्छ। अब संस्थागत निर्णयको बेला आएको छ।”
ओलीको यो भनाइपछि बैठकमा विविध विषयमा बहस चलेको र सचिवालय बैठक लम्बिएको एक नेताले जानकारी दिएका छन्।
१० मिनेटको खाजा break पछि बैठक पुनः सुरु भएको छ।
सचिवालय बैठकमा अब विधान अधिवेशनमा विद्या भण्डारीलाई प्रतिनिधि बनाउने/नबनाउने, साथै पार्टी नेतृत्वबारे भविष्यका रणनीतिहरूमा छलफल हुने बताइएको छ।
पूर्वराष्ट्रपति भण्डारीले हालै आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन्। साथै, पार्टी अध्यक्ष बन्ने आकांक्षा समेत सार्वजनिक गरिसकेकी छिन्।
तर, अध्यक्ष ओलीले यसअघि नै पार्टी नेतृत्व हस्तान्तरण गर्न नसकिने धारणा सार्वजनिक रूपमा राखिसकेका छन्, जसले आगामी दिनमा एमालेभित्र शक्ति संघर्ष चर्किन सक्ने संकेत देखिएको छ।

