आज कोशीसहित पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौँ, ३२ असार – देशभर सक्रिय मनसुनका कारण आज कोशीसहित पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरमा छ। यसका कारण देशका धेरैजसो स्थानमा मौसम बदली भएको छ।

आज कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको केही स्थानहरूमा अत्यधिक वर्षा, तथा अन्य चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

देशका उच्च पहाडी र हिमाली भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने उल्लेख गरिएको छ। आज रातिको मौसमसम्बन्धी अनुमान अनुसार देशभर आंशिकदेखि साधारणतया बदली हुने छ। कोशी, मधेस, सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले बिहान ६:०० बजे जारी गरेको बुलेटिनमा सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, ठूला तथा साना नदी, खोलानाला आसपासको क्षेत्र, सहरी तथा तराई भूभागमा डुबानको जोखिम, तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात लगायत क्षेत्रमा असर पर्न सक्ने भएकाले सर्वसाधारण, सरकारी निकाय, सुरक्षा निकाय र सरोकारवालाहरूलाई पूर्वतयारी र सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments Box