कर्णालीसहित सहायक नदीहरूमा घडियाल, डल्फिन र मगर गोहीका बच्चा हुर्किँदै

कैलाली, ३१ असार – कर्णाली नदी र त्यसका सहायक पथरैया तथा मोहना नदीमा घडियाल गोही, डल्फिन र मगर गोहीले बच्चा हुर्काइरहेका छन्। संरक्षणकर्मीहरूका अनुसार यो क्षेत्र प्राकृतिक रूपमा जलचर प्रजननको उपयुक्तस्थल बन्दै गएको छ।

संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार असारको पहिलो सातादेखि नै घडियाल गोहीले सहायक नदीहरूमा बच्चा हुर्काउन थालेका छन्। चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षित अवस्थामा हुर्काइने घडियाल गोही अहिले प्राकृतिक रूपमा बिना लगानी बच्चा हुर्काइरहेका छन्। “विगत चार वर्षदेखि यिनले यही क्षेत्रमै प्रजनन गरिरहेका छन्,” उहाँले भन्नुभयो।

यसैगरी, मोहना, पथरैया र कर्णाली नदी तीनवटैमा यो वर्ष पनि घडियाल गोहीले बच्चा कोरेका छन्। त्यसैगरी, यी नदी क्षेत्रमा डाल्फिनका बच्चा पनि वयस्क डल्फिनसँगै देखा परेका छन्। संरक्षणकर्मी ढुङ्गानाका अनुसार डल्फिन विश्वमै दुर्लभ मानिएको जलप्राणी हो, जसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN) ले रातो सूचीमा राखेको छ।

“सुरुमा वयस्क डल्फिन देखिन्थे, अहिले त उनीहरूसँग स–साना बच्चाहरू पनि देखिन थालेका छन्। दुई–तीन दिनको अन्तरालमा ६–७ वटा बच्चा माउसँग देखिन्छन्,” ढुङ्गानाले बताए। उहाँका अनुसार यी बच्चाहरू मोहना नदीमै जन्मिएका हुन्।

डाल्फिन स्तनधारी जलचर हुन् र सफा पानीमा बच्चा हुर्काउन रुचाउँछन्। भारत र नेपालका विभिन्न नदी क्षेत्रमा बसोबास गर्ने डल्फिन मनसुन अवधिभर कर्णाली र सहायक नदीहरूमा रहने गर्छन्। संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार, “यी डल्फिनहरू तीन महिनाभन्दा बढी समय यिनै नदी क्षेत्रमा बस्छन् र मनसुन सकिएपछि पुनः कर्णाली नदीतर्फ फर्कन्छन्।”

कर्णाली क्षेत्र डल्फिनहरूको लागि उपयुक्त बासस्थान हो। यहाँ माछा, घोंगी, लेउ जस्ता आहारा प्रशस्त, जल स्वच्छ र नदी दोभान बढी भएकाले डल्फिन यतै आकर्षित हुने श्रेष्ठले जानकारी दिनुभयो। यहाँ पाइने डल्फिनहरू प्लानिभेष्टा ग्याङ्गेटिक जातका हुन्, जो नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छन्। यसैबीच, मगर गोहीले पनि सोही क्षेत्रका नदीहरूमा बच्चा हुर्काइरहेका छन्। संरक्षणकर्मीहरूका अनुसार, यो जैविक विविधता संरक्षण र प्राकृतिक प्रजननका लागि सकारात्मक संकेत हो।

Facebook Comments Box