‘निरोगी नेपाल’ अभियानलाई सार्थक बनाऔँ – प्रधानमन्त्री ओली
काठमाडौँ, ३० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, महाराजगञ्जको विस्तारित सेवा भवनको उद्घाटन गर्नुभएको छ।
भाटभटेनी सुपरमार्केटको आर्थिक सहयोगमा निर्मित सो भवनको उद्घाटन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव प्रवेशका अवसरमा आयोजित कार्यक्रममा भएको हो।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकारको ‘निरोगी नेपाल’ अभियान अन्तर्गत स्वास्थ्यप्रति सजग रहनु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै भने,
“हामी सकभर बिरामी नै नहुने गरी जीवनशैली बनाऔँ – आहार, विहार र विश्राममा सन्तुलन ल्याऔँ। तर बिरामी परेमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको कर्तव्य हो।”
उहाँले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङद्वारा गरिएको सहयोगको उच्च प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “कसैले धन कमाएर क्यासिनोमा खर्च गर्छन् भने गुरुङ दम्पतीले अस्पताल निर्माणमा लगानी गर्छन्। क्यासिनो जानेहरूले सुध्रिऊन्, गुरुङ दम्पतीको सेवा गर्ने क्षमता अझ बढ्दै जाओस्।”

