टीकापुर नगरपालिकाद्वारा प्लास्टिक झोलामा प्रतिबन्धको तयारी
कैलाली, २३ असार – कैलालीको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिक झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ। यसका लागि नगरपालिकाले “प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन, २०८०” निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी थालेको हो।
नगरप्रमुख रामलाल डगौरा थारुले प्लास्टिक वातावरणका लागि हानिकारक भएकाले यसको नियमन आवश्यक भएको बताउनुभयो। “प्लास्टिक नियन्त्रणले नगरलाई राहत दिनेछ, साथै डुबानजस्ता जोखिम पनि घट्दै जान्छ,” उहाँले भन्नुभयो।
नगरपालिकाको सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाका अनुसार, बजार क्षेत्रमा प्लास्टिकको अत्यधिक प्रयोगका कारण ढल जाम हुने, वर्षातमा बाढी डुबानको जोखिम बढ्ने जस्ता समस्याहरू देखिँदै आएका छन्। “प्राकृतिक विपद्बाट जोगिन प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाउने तयारी गरिएको हो,” उहाँले स्पष्ट पार्नुभयो।
नगरपालिकाले जनस्तरमा व्यापक जनचेतना फैलाउने कार्य गरिरहेको छ भने व्यापारीहरू पनि यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। व्यापारी पुष्पराज देवकोटाले भन्नुभयो, “सुरुमा अप्ठ्यारो लागे पनि अब हामी विकल्पतर्फ गइरहेका छौँ।”
प्लास्टिक प्रतिबन्धपछि स्थानीय गार्मेन्ट उद्योगले नयाँ अवसर पाउने विश्वास गरिएको छ। कपडाका झोलाको माग बढ्ने सम्भावनाले रोजगारी पनि बढ्ने गार्मेन्ट व्यवसायी मातृकाप्रसाद तिमिल्सिनाले बताए। ऐन अनुसार, नियम उल्लंघन गर्नेहरूलाई जरिवाना गरिनेछ।
-
प्लास्टिक झोला विक्रेताका लागि पहिलोपटक १ हजार, दोस्रोपटक ३ हजार, तेस्रोपटकदेखि ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
-
प्रयोगकर्तालाई पहिलोपटक १०, दोस्रोपटक ५०, तेस्रोपटक १०० रुपैयाँ जरिवाना गरिनेछ। निरन्तर उल्लंघन गरेमा नाम सार्वजनिक गरी थप कारबाही गरिनेछ।
-
उत्पादकका लागि पहिलोपटक २ हजार, दोस्रोपटक ४ हजार, तेस्रोपटक ६ हजार जरिवाना हुनेछ। त्यसपछि नाम सार्वजनिक गरेर अन्य कानुनी कारबाही अगाडि बढाइने व्यवस्था छ।
यससँगै, प्लास्टिकजन्य वस्तुको अनुगमनमा खटिने कर्मचारी वा जानकारी दिने व्यक्तिलाई जफत गरिएको सामग्रीबाट संकलित जरिवानाको ५० प्रतिशत पुरस्कारस्वरूप प्रदान गरिने व्यवस्था ऐनमा गरिएको छ।

