नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू

काठमाडौं, २० असार – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई अब पेन्सन र उपदान नदिई, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ।

अर्थ मन्त्रालयले सो प्रणाली कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई परिपत्र जारी गरेको छ।

मन्त्रालयले सामाजिक सुरक्षा प्रणालीमा सहभागी नगराइएका कर्मचारीबाट उत्पन्न हुने भविष्यको वित्तीय दायित्व नेपाल सरकारले नबेहोर्ने स्पष्ट पार्दै, नयाँ नियुक्त कर्मचारीहरूलाई अनिवार्य रूपमा सो प्रणालीमा सहभागी गराउन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

नयाँ प्रणाली लागू भएसँगै, सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीले सेवा अवधिभर तलबबाट अंशदान गर्ने र सेवा निवृत्तिपछि त्यही योगदानका आधारमा सुविधा प्राप्त गर्ने व्यवस्था हुनेछ।

Facebook Comments Box