हैजा नियन्त्रणका लागि काठमाडौं महानगरमा जनचेतनामूलक अभियान सुरु

काठमाडौं, २० असार – काठमाडौं महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ।

महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका सम्पर्क व्यक्ति ऋषि भुसालका अनुसार, छिटो मनसुन प्रवेश र निरन्तर वर्षा भइरहेकाले हैजाको जोखिम बढ्न सक्ने अनुमानमा आधारित भएर अभियान सञ्चालन गरिएको हो।

“अभिमुखीकरण कार्यक्रमसँगै पिउने पानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको छ,” भुसालले जानकारी दिनुभयो। यसअघि बल्खु, कालीमाटी, टंकेश्वर क्षेत्र हैजाको उच्च जोखिममा परेको अनुभव भएकाले यसपटक समयमै सचेतना अभियान चलाइएको महानगरले जनाएको छ।

हैजा दूषित पानी वा खाना सेवनबाट सर्ने ब्याक्टेरियाजन्य संक्रामक रोग हो। व्यक्तिगत सरसफाइको कमी, लक्षण नदेखिएका संक्रमितसँगको सम्पर्क, वा असुरक्षित खानेकुरा सेवनले हैजा सर्ने जोखिम उच्च हुन्छ।

पखालाका रूपमा सुरु हुने यो रोग समयमै उपचार नपाए ज्यानसमेत लिन सक्छ। चिकित्सकहरूका अनुसार, विशेषगरी वर्षायाममा हैजाको संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले साफ पानी पिउनु, सफा खाना खानु, र व्यक्तिगत सरसफाइमा ध्यान दिनु अत्यावश्यक हुन्छ।

Facebook Comments Box