एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २० असार – नेपालमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेको छ। पछिल्लो एक हप्तामा मात्रै ३५ जनामा कोरोना पुष्टि भएको छ भने हालसम्म ३१ जिल्लामा फैलिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ देखि २०८२ असार १९ गतेसम्म देशभर २४९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै तीन नयाँ सङ्क्रमित भेटिएका छन्। संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का प्रवक्ता डा. प्रकाश बुढाथोकीले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभर १७ सीमा नाकामा हेल्थ डेस्क मार्फत निगरानी बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार, सबै हेल्थ डेस्कमा आरडिटी विधिबाट परीक्षण भइरहेको छ।

कोभिड–१९ तथा अन्य श्वासप्रश्वासजन्य रोगबाट जोगिन मन्त्रालयले निम्न स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ:

  • मास्क अनिवार्य लगाउने

  • साबुनपानी वा स्यानिटाइजरले हात धुने

  • व्यक्तिगत सरसफाइमा ध्यान दिने

  • लक्षण देखिएमा क्वारिन्टाइन वा आइसोलेसनमा बस्ने

डा. बुढाथोकीले विशेषगरी कोभिड प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरूलाई सजग रहनु पर्ने बताउँदै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था सम्पर्क गर्न अनुरोध गर्नुभयो।

Facebook Comments Box