ढुङ्गा खस्दा टहरामा सुतेका दिदी बहिनीको मृत्यु
सुर्खेत, २० असार – जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दुई बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ। बिहीबार बेलुकी करिब ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडा अध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो।
विगत केही दिनदेखि लगातार वर्षा भइरहेकाले पहिरोको खतरा रहेको र ढुङ्गा खस्न थालेको उहाँले बताउनुभयो। नरबहादुर बुढाकी दुई छोरी अस्थायी टहरामा सुतिरहेको अवस्थामा माथिबाट अचानक ढुङ्गा खस्दा घटनास्थलमै दुवैको मृत्यु भएको हो। उक्त टहरा भूकम्पपीडितका लागि बनाइएको अस्थायी आवास भएको बताइएको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको प्रहरी जवान महेश सिंहले जानकारी दिनुभयो।
Facebook Comments Box

