नौ वर्षपछि काठेखोला गाउँपालिकाको केन्द्र टुङ्गो, आमपाटामा भवन निर्माण हुने

बागलुङ, २० असार – स्थापना भएको नौ वर्षपछि बागलुङको काठेखोला गाउँपालिकाले अन्ततः आफ्नो स्थायी प्रशासनिक केन्द्र टुङ्ग्याएको छ। विसं २०७३ मा स्थापना भएको पालिकाले विभिन्न प्रयासका बाबजुद भवन निर्माणको स्थानमा सहमति जुटाउन नसक्दा अहिलेसम्म भाडाका घरबाट सेवा दिँदै आएको थियो।

तर, हालै सम्पन्न १७औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत निर्णय गर्दै गाउँपालिकाको प्रशासनिक भवन काठेखोला–६ स्थित आमपाटामा निर्माण गर्ने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार राजनीतिक दलहरूबीचको सहमति र स्थानीयको सहयोगका कारण लामो समयदेखि बाँझिएको विषय टुङ्गोमा पुगेको हो।

“स्थापनाको नौ वर्षमा प्रशासनिक केन्द्र टुङ्गो लागेको छ,” अध्यक्ष थापाले भन्नुभयो, “आमपाटाका स्थानीयले छ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। आगामी वर्षदेखि भवन निर्माण सुरु गरिनेछ।” यसअघि केन्द्र तोक्ने विषयमा काठेखोला–२ को अक्षते र वडा नं ६ को सुल्डाँडाबीच प्रतिस्पर्धा भइरहेकाले मत बाँडिन गएको थियो।

असार १० गते बसेको गाउँसभाको दोस्रो बैठकमा केन्द्र टुङ्ग्याउन गरिएको मतदानमा पनि दुईतिहाइ मत प्राप्त हुन नसकेको थियो। यसपछि असार १८ गते बसेको सर्वदलीय बैठकले अक्षते र सुल्डाँडालाई प्रशासनिक केन्द्रका रूपमा मान्ने र भवन आमपाटामा बनाउने सहमति जुटाएपछि १७औँ गाउँसभामा सर्वसम्मत निर्णय गरिएको हो।

हालसम्म गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर मासिक रु ६० हजार खर्चमा कार्यालय सञ्चालन गर्दै आएको छ। पालिकाको आफ्नै भवन नहुँदा वार्षिक सात लाख रुपैयाँभन्दा बढी भाडामा जाने गरेको थियो। बागलुङका अन्य नौ पालिकाले आफ्ना स्थायी भवन निर्माण गरिसकेका छन्, काठेखोला मात्र यस्तो पालिका हो जसले अझैसम्म आफ्नै भवन निर्माण गर्न सकेको थिएन।

Facebook Comments Box