साम्बाको पाँच गोलसहित नेपालको लाओसमाथि ९–० को सानदार जित

काठमाडौँ, असार १६ – स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’को कप्तानीमा उत्रिएको नेपाली महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा लाओसमाथि ९–० को सानदार जित हासिल गरेको छ।

नेपालको जितमा कप्तान साम्बाले पाँच गोल गरेकी हुन्। यस्तै, अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीले समान एक–एक गोल गर्दै जितमा योगदान दिए। खेलको १२ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। सावित्रा रानामगरको लामो क्रसमा रश्मी घिसिङले साम्बालाई दिएको पासलाई उनले अनितासम्म पुर्‍याएकी थिइन्, जसलाई अनिताले कुशलतापूर्वक गोलमा परिणत गरिन्।

४४ औँ मिनेटमा साम्बाको हेडर गोलमार्फत नेपालले अग्रता २–० बनायो। अनिता बस्नेतको क्रसमा साम्बाले उत्कृष्ट हेडरमार्फत गोल गरेकी हुन्। दोस्रो हाफको सुरुवातमै, ४७ औँ मिनेटमा सरु लिम्बुले तेस्रो गोल गरिन्। सविता रानामगरको पासलाई सदुपयोग गर्दै सरुले बललाई पोस्टको जाली चुमाइन्।

५५ औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्‍याइन्। त्यसको एक मिनेटपछि, ५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङले पाँचौँ गोल गरिन्। ७५ औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गर्दै छैटौँ गोल गरिन्। त्यसको एक मिनेटमै चौथो गोल थप्दै उनले टोलीलाई ७–० को स्थितिमा पुर्‍याइन्।

८३ औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेकी अनिता केसीले आठौँ गोल गरिन्। र अन्ततः, ८८ औँ मिनेटमा साम्बाले व्यक्तिगत पाँचौँ गोल गर्दै नेपालको जितलाई ९–० मा परिणत गरिन्। नेपालले पहिलो हाफमा २–० को अग्रता बनाएर दोस्रो हाफमा थप ७ गोल गर्दै लाओसमाथि एकतर्फी जित दर्ता गरेको हो।

Facebook Comments Box