भोजपुरमा लोपोन्मुख रेड पान्डा संरक्षणका लागि क्यामेरा जडान
भोजपुर, ५ असार – भोजपुरमा लोपोन्मुख वन्यजन्तु रेड पान्डाको संरक्षण कार्य तीव्र पारिएको छ। रेड पान्डा पाइने क्षेत्रको पहिचान गर्दै चारवटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरिएको रेड पान्डा नेटवर्कले जनाएको छ।
टेम्केमैयुङ गाउँपालिका–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा रेड पान्डाको आहारका रूपमा महत्वपूर्ण मालिङ्गो बिरुवा (बाँस प्रजाति) को आठ हजार बोट रोपिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो।
अधिकृत अधिकारीका अनुसार, पोखरी निर्माण र मालिङ्गो रोपणलगायतका संरक्षण कार्यमा गत आर्थिक वर्षमा करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको लगानी भएको छ। संरक्षण कार्य घनिभूत बनाउन तीनवटा ठूला पोखरीसमेत निर्माण गरिएको छ।
रेड पान्डाको चोरी–सिकारी रोक्न सातवटा गस्ती टोली परिचालित गरिएको छ। त्यस्तै, स्थानीय समुदायलाई सचेत बनाउन तालिम, वन अभिभावकको नियुक्ति र हेरालु समूहको सक्रियता पनि बढाइएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठका अनुसार, धप्परे एकराते सामुदायिक वन क्षेत्रमा रेड पान्डाको उपस्थिति पुष्टि भइसकेको छ। “हामीले संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो। रेड पान्डा संरक्षण अभियानसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मुन्दुम पदमार्ग अन्तर्गत पर्ने यी क्षेत्रमा पर्यटकीय सम्भावना बढाउन संरक्षणलाई प्राथमिकता दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार रेड पान्डा पाइने क्षेत्रलाई “रेड पान्डा जोन” को रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ।

