कैलाली कारागारमा युवकको रहस्यमय मृत्यु, शव दुई दिनदेखि नउठाइएपछि तनाब
धनगढी, ४ असार — कैलाली कारागारमा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। तर, मृत्यु भएको दुई दिन बितिसक्दा पनि शव उठाइएको छैन, र मृतकका आफन्तले कुटपिटबाट हत्या भएको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन्।
डडेल्धुरा जिल्ला, भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पाली सोमबार राति साढे १० बजे कारागारभित्र अचेत अवस्थामा भेटिएका थिए। उनलाई तत्कालनै सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति नै मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिनुभयो।
मृतक पालीलाई जिल्ला अदालतले बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसपछि उनी फरार थिए। असार १ गते मात्र कैलाली प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको थियो। जेलर तिमिल्सिनाका अनुसार मृतकलाई अस्पताल लैजाँदा उच्च ज्वरो र निकै कम रक्तचाप थियो।
यद्यपि मुख, खुट्टा र शरीरका विभिन्न भागमा चोटपटक देखिएको कारण मृतकका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरिएको आशंका व्यक्त गरेका छन्। शव हाल सेती प्रादेशिक अस्पतालमै रहेको छ भने, मृतकका आफन्तले शव बुझ्न मानेका छैनन्। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।

