इरानको सरकारी टेलिभिजन कार्यालयमाथि इजरायली आक्रमण

काठमाडौँ, ३ असार — इजरायलले इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को कार्यालयमाथि आक्रमण गरेको छ। इजरायली सेनाले सोमबार राति उक्त प्रसारण केन्द्रलाई लक्षित गर्दै आक्रमण गरेका हुन्।

बिशेष कुरा के छ भने, आक्रमणको बेला टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो। लाइभ कार्यक्रमका क्रममा कार्यालयभित्र विस्फोटको आवाज आएको दृश्य समेत टेलिभिजनमा प्रसारण भएको थियो। त्यस क्रममा कार्यक्रम प्रस्तोता आकस्मिक रूपमा प्रसारण रोक्दै स्टुडियोबाट बाहिरिने दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

केही मिनेटपछि आईआरआईबीले पुनः प्रसारण सुरु गरेको थियो। न्यूज नेटवर्क को प्रत्यक्ष प्रसारणमा एक वरिष्ठ अधिकारीले बोलेका थिए — “इरानी राष्ट्रको आवाज दबाउन इजरायली सेनाले सैन्य आक्रमण गर्‍यो, तर इस्लामी क्रान्तिको आवाज कुनै पनि गोली वा बमले रोक्न सक्दैन।”

यसअघि नै इजरायलका रक्षामन्त्री योआव गालान्टले इरानी प्रचार माध्यमहरूलाई लक्षित गर्दै “उनीहरूको उक्साउने मेगाफोन ध्वस्त पार्ने” चेतावनी दिएका थिए। इजरायली सेनाले पनि सोमबारै राजधानी तेहरानको ‘डिस्ट्रिक्ट थ्री’ आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। इजरायल–इरान तनाव चुलिँदै गएको पृष्ठभूमिमा यस घटनाले दुबै मुलुकबीचको द्वन्द्वलाई अझ जटिल बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरू बताउँछन्।

Facebook Comments Box