२७ वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र सुरु
म्याग्दी, ३ असार – म्याग्दी जिल्लामा २७ वर्षअघि ट्रयाक खुलेको रत्नेचौर–भकुण्डे सडक अन्ततः कालोपत्र हुने चरणमा पुगेको छ। बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे हुँदै तमानेसम्मको १० किलोमिटर सडक खण्डमा कालोपत्रको काम सुरु भएको हो।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत संचालित उक्त योजनाको पहिलो चरणमा उपल्लाचौर–अर्जम–फापरखेत खण्डको चार किलोमिटरमा कालोपत्र थालिएको सडक डिभिजन प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो।
सुवेदीका अनुसार हाल एक किलोमिटर २०० मिटर सडकमा कालोपत्रको ढलान सकिएको छ। ९ मिटर चौडाइको सडकमा ७ मिटर फराकिलो भागमा डिबिएसडी प्रविधिबाट कालोपत्र गरिनेछ। विसं २०५६ मा पहिलोपटक ट्रयाक खुलेको यो सडक बेनी नगरपालिकाका वडा नं १, २, ४ साथै बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्दै आएका छन्।
उक्त योजना निर्माणका लागि २०७९ साल भदौ ६ गते २३ करोड ३२ लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। हालसम्म योजनाको ७५ प्रतिशत भौतिक र ५९ प्रतिशत वित्तीय प्रगति भइसकेको कार्यालयले जनाएको छ। यसअघि रत्नेचौरबाट भकुण्डेसम्मको यात्रा झण्डै एक घण्टाको थियो, अहिले त्यो समय घटेर २० मिनेटमा झरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षमा विनियोजन भएको ४ करोड रुपैयाँ बजेट खर्च भइसकेको र आगामी वर्षका लागि ३ करोड रुपैयाँ थप विनियोजन भएको छ। सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आव २०७७/७८ मा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत देशभरका क्षेत्रमा ४०–४० करोड रुपैयाँ बजेट छुट्याएको थियो।

