आशा र विश्वाससहित सकियो ‘गुरुङ सम्पदा पदमार्ग’ को खोज अन्वेषण
गण्डकी, २ असार — गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका तथा मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट सुरु गरिएको ‘गुरुङ सम्पदा पदमार्ग’ को खोज तथा अन्वेषणात्मक पदयात्रा सफलतापूर्वक सम्पन्न भएको छ।
पदमार्ग पोखराबाट सुरु भएर लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू समेट्दै तय गरिएको थियो। यही जेठ २३ गतेदेखि असार १ गतेसम्म संचालन भएको पदयात्राको उद्देश्य परम्परागत भेडीगोठ र प्राचीन नुन मार्गलाई पदयात्रा पर्यटनसँग जोड्नु रहेको संयोजक तथा संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो।
यसअघि कास्कीको ताङतिङ हुँदै मनाङको तिमाङसम्म र कास्कीको सिक्लेस हुँदै कोरी, क्व्होलासोँथर, कर्पु हुँदै याङ्जाकोटसम्म दुई चरणमा अनुसन्धानात्मक पदयात्रा सम्पन्न भइसकेको थियो। गुरुङ सम्पदा पदमार्गमा टिहाउस, खानेपानी र सञ्चार सम्पर्कका पूर्वाधार आवश्यक रहेको सङ्घकी अध्यक्ष किसमकुमारी गुरुङको भनाइ छ। उहाँले आगामी सन् २०२६ देखि पदमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित पूर्वाधार निर्माणको खाँचो औँल्याउनुभयो।
यस पदयात्राका क्रममा सञ्चार सम्पर्कको अवस्था बारे स्थलगत प्राविधिक अध्ययन गरिएको थियो। कतिपय ठाउँमा सम्पर्क विहिनता रहेको पनि अध्ययनले देखाएको छ। ४८ जनाको सहभागिता रहेको पदयात्राबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिने जनाइएको छ।
साथै मार्गभरि भेंडा, गाई, भैँसी र चौँरी गोठ तथा चरन क्षेत्र, मनोरम पोखरी, खोला र जैविक विविधताले भरिएका लेकहरू छन्। पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔंले, वन लसुन लगायतका जडीबुटी पाइने जनाइएको छ। त्यस्तै, हावापानीअनुसार लालीगुराँस र विविध लेकाली फूलहरूले पदयात्रालाई झनै आकर्षक बनाउने जनाइएको छ।
स्थानीय गुरुङ गाउँहरूमा घरवास सेवा उपलब्ध छ। घरवासमा रहेका पर्यटकलाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार खुवाइने र सांस्कृतिक कार्यक्रमजस्तै घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहको नाच देखाइने सिउरुङ सामुदायिक होमस्टेकी सञ्चालिका सन्तकाशी गुरुङले जानकारी दिनुभयो।

