प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने

काठमाडौँ, १ असार – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकको कार्यसूचीमा राष्ट्रिय सभाबाट पारित भई आएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी सन्देश सहितको विधेयक टेबुल गरिने उल्लेख छ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२” बैठकमा प्रस्तुत गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने आगामी आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव संसद्‌मा पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

साथै, आजको बैठकबाटै आगामी आर्थिक वर्षको बजेटमाथि प्रारम्भिक छलफल सुरु हुने भएको छ। यता, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठकमा विरोध जनाउँदै आएका छन्।

Facebook Comments Box