हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा तीन जना मजदुरको मृत्यु
फिदिम, १ असार – मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत रहेको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
घाइते भएका मजदुरहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पतालमा पुर्याएपछि चिकित्सकले तिनीहरुलाई मृत घोषणा गरेका छन्, जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानमा बाहिरी चोट नदेखिए पनि घाइते मजदुरहरू बोल्न नसक्ने अवस्थामा रहेको पाँचथर अस्पतालले जनाएको छ। यस घटनामा थप तीन जना घाइते भएका छन् र उनीहरूको उपचार जारी छ। पछिल्लो समय, २०८१ असोज १२ गतेको बाढीले यहाँको बेलिब्रिज बगाएको थियो, जसको पुनः जडान कार्य जारी थियो। जडानको काम समाप्त हुनुअघि नै बेलिब्रिज भत्किएको हो।
बेलिब्रिज खस्दा उक्त स्थानमा जडान कार्य गरिरहेका ६ जना मजदुर घाइते भएका थिए। हेवा खोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ का सीमाना क्षेत्रका रूपमा परिचित छ।

