काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले बल प्रयोग गरेर गुरागाईंलाई कार्यालय प्रवेश गराए

काठमाडौं, २१ चैत – बिहीबार काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा केहीबेर अवस्था तनावपूर्ण बन्यो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय जाने भएपछि त्यहाँ महानगर प्रहरी उनलाई रोक्न तैनाथ थियो ।

तर, आफ्नै प्रहरी बलले रोक्न खोज्दाखोज्दै कर्मचारी र जनप्रतिनिधिले बल प्रयोग गरेर गुरागाईंलाई कार्यालय प्रवेश गराए । केहीबेर अवस्था तनावपूर्ण बन्यो । गुरागाईंको कार्यकक्ष अगाडि ठूलो संख्यामा नगर प्रहरी खटिनुपर्‍यो ।

नगर प्रहरीको अवरोधकाबीच कर्मचारीले कार्यकक्षमा लगाइएको ताला फुटाए । सिसा तोडे । अवस्था केहीबेर तनावपूर्ण बनेपछि उपमेयर सुनिता डंगोल आफैं खटिइन् । उनले तत्काल सबैलाई शान्त हुन आग्रह गरिन् ।

तत्कालै हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसहितलाई राखेर बैठक गरिन् । उनले बैठकमा मेयर बालेन शाहको खोजी गरिन् । बालेन कार्यालयमा उपस्थित थिएनन् ।

उपमेयर डंगोलले चेतवनीको भाषा प्रयोग गर्दै बिहीबार कार्यालयमा देखिएको दृश्यलाई ‘तमासा’ भनिन् । उनले आफूहरूले मात्रै नभइ मेयर शाहले पनि उक्त ‘तमासा’ हेनुपर्ने बताइन् ।

‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन् । सुनिताले यसरी खोजिरहँदा मेयर शाह भने काठमाडौंमै थिएनन् ।

सचिवालय स्रोतका अनुसार मेयर शाहले बुधबार साँझै काठमाडौं छाडेका हुन् । उनी बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६ स्थित एक रेस्टुरेन्टमा देखा परे ।

जतिबेला यता, महानगरपालिकामा भने उपमयेर शाहले भनेजस्तै कर्मचारी र जनप्रतिधिबीच ‘तमासा’ चलिरहेको थियो । केराघारीमा रहेको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा उनले करिब एक घण्टा बिताएका थिए । उक्त रेस्टुरेन्टकी सञ्चालकका अनुसार मेयर शाहले करिब एक घण्टा त्यहाँ बिताएका थिए ।

‘खाना, पानी, चिसो, दहि सबै खाएर उहाँ जानुभएको हो,’ रेस्टुरेन्टकी सञ्चालिकाले भनिन्, ‘उहाँ करिब एक घण्टा बिताउनुभयो ।’ त्यसपछि मेयर शाह धुलिखेलतर्फ गाडी लिएर हुँइकिएका छन् ।

बिहीबार दिनभरको घटनाक्रमबारे मेयर शाहले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, सचिवालयले भने सरकारले नै गत चैत १५ गतेको घटनाक्रमलाई मोड्न यस्तो कार्य गरेको आरोप लगाएको छ ।

Facebook Comments Box