डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिकी सेयर बजारमा उच्च गिरावट
काठमाडौं, २७ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिकी सेयर बजारमा उच्च गिरावट आएको छ। यसको प्रभाव एसियाली बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकी सेयर बजारमा ४ प्रतिशतसम्म गिरावट आएको छ ।
खासगरी न्युयोर्कमा प्रविधि क्षेत्रका सेयर बजारमा तीव्र गिरावट देखिएको छ । जसका कारण सेयरबजार परिसूचकले २०२२ पछिकै सबैभन्दा खराब दिन अनुभव गरेको बीबीसीले जनाएको छ । ट्रम्पले अमेरिकी अर्थतन्त्र ‘परिवर्तनको चरणमा’ रहेको भनेर टिप्पणी गरेपछि लगानीकर्ताहरू चिन्तित छन् ।
मंगलबार बिहानको कारोबारमा जापानको निक्केई २२५ परिसूचक २.५ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी २.३ प्रतिशत तल झरेको छ । अस्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० परिसूचक १.८ प्रतिशत ओरालो लागेको छ । यसअघि सोमबार न्युयोर्क सेयर बजारमा एसएन्डपी ५०० परिसूचक २.७ प्रतिशतले घट्दा, डाओ जोन्स २ प्रतिशतले घटेको थियो ।
प्रविधि क्षेत्रको नास्डाक ४ प्रतिशत खस्किएको थियो । टेस्लाको सेयर १५.४ प्रतिशतले घट्यो भने एआई चिप उत्पादक कम्पनी एनभिडियाको सेयर ५ प्रतिशत भन्दा बढीले तल झरेको थियो । मेटा, अमेजन र अल्फाबेट (गूगलको मूल कम्पनी) जस्ता कम्पनीका सेयरहरू पनि ठूलो मात्रामा घटेका छन् ।

