महाकालीको बाढीले आधा भन्दा बढी भत्कायो बाँध, नदी गाउँ पस्ने जोखिम

काठमाडौँ, ३० भदौ – महाकाली नदीमा आएको बाढीले निर्माणाधीन महाकाली चार लेन पक्की पुल आयोजनामा क्षति पुर्‍याएको छ। महाकाली नदीको बाढीले आयोजना अन्तर्गत पोखरी निर्माण गर्न राखिएको बाँध कटान गरेको छ। भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पोखरीका लागि ढुंगा र ग्राभेल हालेर बनाइएको बाँध महाकाली नदी कटान गरिरहेको हो।

महाकालीको धार परिवर्तन गरेर कटान रोक्ने प्रयास जारी रहेको भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भुपेन्द्र सिंह रावलले बताए। ‘हिजो महाकालीमा पानीको तीव्र बहाब हुँदा कटान भएन। आज पानी घट्दै जाँदा महाकालीको धार बाँधतर्फ सोझियो। जसले बाँधमा कटान गरिरहेको छ,’ उनले भने, ‘कटान गरिरहेको बाँधको एक ठाउँमा आधा भन्दा बढी बाँध बगाइसकेको छ।’

जेसीबी र स्काभेटरको सहायताले सिमेन्टका ब्लक राखेर महाकालीको धार फर्काउने प्रयास गर्दा पनि सफल नभएको उनको भनाई छ। बाँध जोगाउनका लागि पानीको बहाबको घर्षण कम गरेर नदीको धार परिवर्तन गर्नका लागि राखिएका केही ब्लक पनि बगाएको छ। महाकालीमा निर्माण भएको पोखरीको बाँध भत्किए महाकाली नदी बस्ती पस्ने खतरा छ।

‘बाँध भत्काएर महाकालीको पानी पोखरीमा पस्छ। जसले भाइरल रोडलाई खतरा हुन्छ,’ वडाध्यक्ष रावलले भने, ‘त्यहाँबाट पानी बस्तीमा पस्ने जोखिम पनि छ।’ लगातारको वर्षा शनिबार बिहानदेखि रोकिएको छ। महाकालीमा शुक्रबार बेलुका ४ लाख क्युसेक भन्दा बढी पानीको बहाब थियो।

वर्षा रोकिएपछि अहिले पानीको बहाब घट्दो क्रममा रहेको छ। पहाडी भेगमा वर्षा भएर महाकालीमा पानीको बहाब बढेमा कटान झनै बढ्ने जोखिम छ। महाकाली नदीको तटीय क्षेत्र भीमदत्त नगरपालिका–१२ र भीमदत्त नगरपालिका–१३ का स्थानीय सतर्कता अपनाउन भनिएको छ।

महाकाली पक्की पुलको काम अन्तिम चरणमा छ। पक्की पुलको दुवैतिर २÷२ पोखरी निर्माण गरेर महाकालीको पानी पक्की पुलमुनि भएर बहने गरेको छ। ०७८ साल कार्तिकमा आएको बाढीले पनि पक्की पुलको कालोपत्रे पहुँच मार्ग बगाएको थियो।

Facebook Comments Box