साविक विजेता इटाली युरोकप २०२४ को प्रि क्वार्टरफाइनलबाटै बाहिरियो, जर्मनी अन्तिम ८ मा

काठमाडौँ, १६ असार – साविक विजेता इटाली युरोकप २०२४ को प्रि क्वार्टरफाइनलबाटै बाहिरिँदा घरेलु टोली जर्मनी भने अन्तिम ८ मा पुगेको छ। शनिबार राति भएको खेलमा स्वीटजरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै साविक विजेता इटाली युरोकपबाट बाहिरिएको हो। स्वीटजरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले समान एक एक गोल गरे।

खेलको ३७ औँ मिनेटमा रुबेन भार्गासको पासलाई नियन्त्रणमा लिँदै फ्रिउलारले बललाई पोष्टको जाली चुमाएका थिए। खेलको ४६ औँ मिनेटमा मिचेल एबिसरको पासमा भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको २–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा इटाली अन्तिम १६ बाट घर फर्किएकाे छ। स्वीटजरल्यान्डले भने क्वार्टरफाइनलमा स्थान बनायो।

गएरातिकै अर्को खेलमा डेनमार्कलाई हराउँदै घरेलु टोली जर्मनी क्वार्टरफाइनलमा पुगेको छ। डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ५३ औँ मिनेटमा काइ हाभट्र्जले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ६८ औँ मिनेटमा जमाल मुसियालको गोलमा जर्मनीले अग्रता दोब्बर पारेको थियो। जितसँगै जर्मनी क्वार्टरफाइनलमा पुग्दा डेनमार्क भने अन्तिम १६ बाटै बाहिरियो। युरोकपमा आज आइतबार राति इंग्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जियाबीच खेल हुनेछ।

Facebook Comments Box