काभ्रेमा जंगलमा लागेको डढेलो नजिकैको घर गोठमा सल्किँदा २३ वटा खसी बाख्रा मरे
काभ्रे, २७ चैत – काभ्रेमा जंगलमा लागेको डढेलो नजिकैको घर गोठमा सल्किँदा २३ वटा खसी बाख्रा मरेका छन्। दुईवटा घर र गोठ पनि आगोले नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। सोमबार साँझ रोशी गाउँपालिका- ४ डाँडागाउँस्थित पिप्सेगैरा सामुदायिक वनमा लागेको डढेलो स्थानीय कुलबहादुर इस्माली मगरको घर र गोठमा सल्किएको हो।
आगलागीबाट मगरको ढुंगा माटो र जस्ताले छाएको २ तले कच्चि घर र सँगै रहेको बाख्रा बाध्ने गोठमासमेत नष्ट भएको छ। आगलागीबाट खोरमा बाँधिएका २३ वटा खसी, बाख्रा र एउटा बंगुरसमेत जलेर मरेको प्रहरीले जनाएको छ। घरमा राखिएको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, २ तोला बाराबर सुनको गहना र बाक्सामा राखिएको नगद ५५ हजार समेत आगगालीले नष्ट भएको मगरले बताए।
आगलागीबाट मगर परिवारको लाखौँको क्षति भएको अनुमान छ। भएभरको सबै सम्पत्ति आगलागीबाट खरानी भएपछि मगर परिवारको बिचल्ली भएको छ।

