देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ८ फागुन – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भूभागको मौसम भने आंशिक बदलीको अवस्थामा छ। अहिले तराई/मधेशका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदलीको अवस्थामा रहने छ। बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ।
साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका पनि थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
आज राति पनि देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्थामा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

