दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलिबाट तीनकुनेमा प्रदर्शन गर्ने
काठमाडौँ, ७ मङ्सिर – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) बाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। अभियानको पहिलो दिन आज (बिहीबार) बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो। प्रसाईंले भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने जानकारी दिए।
‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा भोलि ११ बजे जम्मा हुन्छौं,’ उनले भने। तीनकुनमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो। पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले ¥याली निकालेको थियो।
उक्त र्याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो। कोणसभा हुनुअघि प्रसाईंका समर्थकसँग युवा संघ र प्रहरीको घम्साघम्सी भएको थियो। स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।

