दोलखामा बोलेरो दुर्घटना एक जनाको मृत्यु, १२ जना घाइते
काठमाडौँ २५ कात्तिक – दोलखाको भीमेश्वरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका- ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा दोलखाकै मेलुङ गाउँपालिक ७ का सुजन मगरको मृत्यु भएको हो।
कालिञ्चोकबाट चरिकोटतर्फ जाँदै गरेको बा २१ च ८२६८ नम्बर बोलेरोले बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सडकबाट ३० तल खसेर दुर्घटना भएको हो। दुर्घटनाका घाइते १२ मध्ये गम्भीर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए।
बाँकी घाइतेको चरीकोटमै उपचार भइरहेको छ। दुर्घटनापछि बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

