डेङ्गु रोगको सङ्क्रमण पुनः फैलिँदै
काठमाडौँ, १५ असार – चार वर्षअघि महामारीका रूपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण पुनः फैलिन थालेसँगै स्वास्थ्य निर्देशनालय धनकुटाले उपचारका लागि स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राखेको छ। कोशी प्रदेशमै डेङ्गु रोगको सङ्क्रमण फैलन सुरु भएसँगै विभिन्न माध्यमबाट बच्ने उपायसहितको सूचना सन्देश प्रसारण गरी सबैलाई सचेत गराइएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो।
उहाँका अनुसार डेङ्गु रोगबाट कोशी प्रदेशको सुनसरीस्थित धरानमा र सङ्खुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन्। मोरङ र झापामा पनि यसै हप्ता डेङ्गु रोगबाट सङ्क्रमण भएका बिरामी देखापरेको हो तर लगातारको वर्षा सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको छ। बिरामीको तथ्याङ्क सङ्कलनका लागि कर्मचारी परिचालन गरिएको छ। स्थानीय पालिकासँग समन्वय गरेर सङ्क्रमण नियन्त्रण प्रयास थालिने निर्देशक बस्नेतले बताउनुभयो।
निर्देशनालयका ल्याब टेक्निसियन दीलिप सिंहका अनुसार अस्पतालको सम्पर्कमा आएर उपचार गराएका बिरामीको मात्र रेकर्ड हेर्दा हालसम्म धरानमा ४० जना र सङ्खुवासभामा १८ जना डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन्। घरैमा पनि उपचार गराएको हुँदा तथ्याङ्क आउने क्रम जारी रहेकोले यो सङ्ख्या बढ्न सक्ने देखिन्छ।
मधेश तथा भित्री मधेशमा देखिने डेङ्गु पछिल्लो केही वर्षदेखि पहाडी जिल्लामा समेत देखिने भएकाले सजग रहन निर्देशनालयले सूचित गरेको छ। २०७६ सालमा प्रदेशका १४ मध्ये ११ जिल्लामा डेङ्गु रोगको महामारीका रूपमा फैलिएको थियो। जसबाट पाँच हजारभन्दा बढी मानिस प्रभावित बनेका थिए।
त्यसपछि छिटपुट बिरामी देखिए पनि यस वर्ष सुनसरीमा बढी बिरामी देखिएको छ। रोगबाट बच्न मानिसको बसोबास रहेको स्थानमा लामखुट्टेका लार्भा खोज र नष्ट गर भन्ने विधि मुख्य रहेको छ भने खुला भाँडा तथा गमलामा समेत पानी जम्न नदिन र सरसफाइका विधिलाई ख्याल गर्न पनि सर्वसाधारणमा सूचित गरिएको निर्देशनालयले जनाएको छ।

