सेयर बजार लगातार ओरालो
काठमाडौं, ५ वैशाख – बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार देखियो ।
आइतबारको घट्दो बजारसम्म खरिद र बिक्रीमा होल्ड गरेका लगानीकर्ता सोमबार भने ठूला र राम्रा कम्पनीमा लोभिएको देखियो । सोमबार १० धेरै कारोबार हुने कम्पनी मध्ये अधिकांश कम्पनी बजारमा राम्रा भनिएकाहरु छन् ।
सोमबार नबील बैंक, हिमालयन डिष्टिलरी, महालक्ष्मी विकास बैंक, नेपाल इन्फ्रास्टक्चर बैंक, सिद्धार्थ इनस्योरेन्स, उप्पर तामाकोशी, अरुण भ्याली हाइड्रोपवर, शिवम् सिमेन्ट, ग्लोबल आइएमई बैंक, अपी पावर र एचआईडिसियल लगायतका कम्पनीमा खरिद बिक्रीको चाप उच्च देखियो ।
सोमबार उच्च कारोबार हुने मध्ये नवील बैंक एक नम्बरमा छ । कुल ९५६ कारोबार मार्फत कम्पनीको ४९ करोड ६२ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । हिमालयन डिष्टीलरीको सेयर धेरै कारोबार हुने दोस्रो कम्पनी हुँदा महालक्ष्मी विकास बैंक तेस्रो कम्पनी बन्यो । जसको कारोबार रकम क्रमश ४९ करोड २३ लाख र ४५ करोड ५ लाख रह्यो ।
यस्तै नेपाल इन्फ्रास्टक्चर बैंकको ३७ करोड २० लाख मूल्य बराबरको सेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । यस्तै सिद्धार्थ इनन्स्योरेन्सको ३६ करोड र अप्पर तमाकोशीको ३५ करोड रुपैयाँ बराबरको सेयर सोमबार दोस्रो बजारमा खरिद बिक्री भयो ।
३२ करोड रुपैयाँ बराबरको अरुण भ्याली हाइड्रोपावरको सेयर खरिद बिक्री हुँदा शिवम् सिमेन्ट कम्पनीको सेयर ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बजारमा देखिएको यस्तो कारोबारलाई सेयर लगानीकर्ता छोटेलाल रौनियार बजारमा नगद पैसा भएका र पैसा नभएर छटपटीएका लगानीकर्ताको द्वन्द्वको रुपमा व्याख्या गर्छन् ।
बजारमा तरलता अभावका कारण देखिएको समस्याले आएको गिरावटको फाइदा उठाउन पैसा हुनेहरुले राम्रा कम्पनी लगानी गरिरहेको रौनियारको भनाइ छ । अर्कोतर्फ पैसा नभई नहुने अवस्थामा लगानीकर्ताले होल्ड गर्न नसकेर बजारबाट बाहिरीएको पनि उनी बताउँछन् ।
‘राम्रा कम्पनीको सेयर घटेर सस्तोमा पाइँदा नगद भएकाहरुले उठाइ रहेका छन्,’ रौनियार भन्छन्, ‘बैंकको ब्याजले पिरोलेका केही लगानीकर्ताहरु होल्ड गर्न नसकेर पनि राम्रा कम्पनीको सेयर बिक्री भइरहेका छन् ।’
बजार धेरै घटेका कारण लगानीकर्ता बेच्न नमान्ने मानसिकता हाबी भएको पनि उनले बताए । तरलता संकटबाट प्रभावित नभएका र नगद भएका लगानीकर्ताको छनोटमा अहिले राम्रो प्रतिफल भएका कम्पनीहरु परेको केही दिनको कारोबारबाट बुझ्न सकिने रौनियारको भनाइ छ ।

