पूर्वी नेपालमा बाढी तथा पहिरोका कारण ६ जनाको मृत्यु, २९ जना बेपत्ता
काठमाडौँ, ४ असार – पूर्वी नेपालमा बाढी तथा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। विभिन्न जिल्लामा गरी ६ जना घाइते तथा २९ जना बेपत्ता भएका प्रहरीले जनाएको छ।
जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवम् पहिरोमा परी संखुवासभामा १ जना, ताप्लेजुङमा ३, पाँचथरमा १ र नुवाकोटमा १ जना गरी ६ जनाको मृत्यु भएको हो। जसमध्ये ५ जना पुरूष र १ जना बालिका रहेका छन्।
साथै बाढी एवम् पहिरोमा परी संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी जम्मा ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।
यस्तै, संखुवासभामा २१, ताप्लेजुङमा ३ र पाँचथरमा ५ गरी २९ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ। बाढी एवम् पहिरोको कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६७ वटा पशु चौपायको मृत्यु भएको छ। सो अवधिमा विपद्का घटनाबाट ९७ घर परिवार विस्थापित भएका छन्।
साथै, बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ। विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोग विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।

