यस वर्ष सरदरभन्दा कम वर्षा हुने, तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना : मौसम बिज्ञान बिभाग

काठमाडौँ, २१ वैशाख – जल तथा मौसम विज्ञान विभागले बबरमहलस्थित आफ्नै कार्यालयमा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी यस वर्ष मनसुनको समय सुरु हुनुपूर्व नै मनसुन समयमा हुने हावापानीको आकलनवारे सरोकारवालालाई जानकारी गराएको छ ।

‘राष्ट्रिय मनसुन फोरम कार्यक्रमको प्रमुख उद्देश्य आउँदो मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आकलनबारे जानकारी गराइनुका साथै छलफल मार्फत सरोकारवालाको आवश्यकता पहिचान गरी सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराई आ-आफ्नो क्षेत्रको आउँदो योजना तर्जुमा गर्नु लगायत जलवायु सूचित निणर्य प्रक्रियामा सहयोग पुर्‍याउनु रहेको मौसम बिभागको भनाइ रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा राष्ट्रिय मनसुन फोरम आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आकलनबारे जानकारी गराएको हो ।

यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । विभागले यस वर्षको मनसुन समय अर्थात जेठ १८ देखि असोज १३ गतेसम्मको हावापानी आकलन प्रक्षेपण गरेको हो । आउँदो मनसुनको समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

कोसी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू-भाग, वाग्मती प्रदेशका दक्षिण-पूर्वी भू-भाग र मधेस प्रदेशका अधिकांश भू-भागमा भने सरदर वर्षा हुने सम्भावना रहेको छ । यसैगरी, यसवर्षको मनसुनमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।

अर्जुन धामी,काठमाडौं

Facebook Comments Box