अझै कम्तीमा ३ दिन देशभर वर्षाको सम्भावना : मौसमविद्
काठमाडौँ, १७ वैशाख – अझै कम्तीमा ३ दिन देशभर वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले अझै तीन दिन सबै प्रदेशमा वर्षा जारी रहने सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
मौसमविद् नगरकोटीका अनुसार अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। ‘आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छ’, उनले भनिन्।
उनका अनुसार विगत २० घण्टामा काठमाडौँ उपत्यकामा ४३ मिलिमिटर वर्षा भएको छ। ‘काठमाडौँमा हिजो मध्यम खालको वर्षा भएको छ’, उनले भनिन्। महाशाखाले देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ।

