बुद्ध एयरले नयाँ एटीआर–७२ जहाज ल्यायो

काठमाडौँ, १६ वैशाख – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। कम्पनीले शुक्रबार १५औँ एटीआर–७२ जहाज भित्र्याएको हो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान थाल्नेछ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। योसँगै बुद्ध एयरका एटीआर जहाजको संख्या १५ पुगेको छ। यीमध्ये १२ एटीआर–७२ र तीन एटीआर–४२ जहाज छन्। यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो।

नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान भइरहेको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने योजना बुद्ध एयरको छ। त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटीआर–७२ जहाजबाट उडान भर्ने तयारी कम्पनीले गरेको छ। छिट्टै अर्को एउटा नयाँ जहाज पनि ल्याइने बुद्ध एयरले जनाएको छ।

Facebook Comments Box