एसीसी प्रिमियर कप क्रिकेटमा यूएई र ओमान सेमिफाइनलमा

काठमाडौँ, १३ वैशाख – काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सेमिफाइलन यात्रा तय गरेको छ। मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएई सेमिफाइनल पुगेको हो।

समूह ‘बी’ मा रहेको यएईले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक बनाएको छ। उसले समूहको शीर्ष स्थानसहित अन्तिम चारको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गरेको बहराइनले दिएको ११७ रनको लक्ष्य यूएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

युएईलाई सहज जित दिलाउने क्रममा अविजित रहेका भृत्य अरविन्दले ८४ बलमा ५ चौका र १ छक्कासहित ६२ रन बनाए। त्यसैगरी अर्का ब्याटर रोहन मुस्तफाले ५६ बलमा ५ चौका र १ छक्का हान्दै ५० रन पूरा गरे। यूएईलाई जिताउन यी दुई खेलाडीले ९९ रनको साझेदारी गरे।

टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ४०.५ ओभरमा अलआउट हुँदै ११६ रन जोडेको थियो। बहराइनले कुनै बेला ८० रन जोड्दा ९ विकेट गुमाइसकेको थियो। तर अन्तिम विकेटका रुपमा अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गरेपछि बहराइको स्कोर सयमाथि गएको थियो।

बहराइनका लागि अली दाउदले ४७ बलमा १ चौका र १ छक्कासहित २३ रन बनाए। उनी नटआउट रहे। उता वासिक अहमदले ४२ बलमा १ चौका हान्दै १२ रन बनाए। त्यस्तै कप्तान हैदर अली बटले ४९ बलमा ४ चौका हान्दै २३ रन जोडे।

अब कुवेत र हङकङबीचको नतिजाले यूएई समूह विजेता हुने नहुने टुंगो हुनेछ। हङकङ र कुवेतमध्ये एक टोली सेमिफाइनल जानेछन्। यसअघि नै समूह ए मा रहेको नेपाल ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ।

त्यस्तै गरि साउदी अरेबियालाई पराजित गर्दै ओमान सेमिफाइनल प्रवेश गरेको छ । टियु मैदान कीर्तिपुरमा समूह ‘ए’ मा रहेको ओमानले साउदी अरेबियालाई ७२ रनले हराएको हो ।

ओमानले दिएको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ९४ रन मात्र बनायो । साउदीका लागि ओपनर अब्दुल वाहिद र साद खानले अर्धशतकीय ईनिङ खेले । वाहिदले ८६ बलमा १४ चौका र १ छक्काको सहयोगमा ९५ रन बनाए ।

खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । पहिलो विकेट सात रन बनाउँदा गुमाएको साउदीका लागि वाहिद र खानले १ सय ७७ रनको साझेदारी गरेका थिए । तल्ला क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा साउदीले हार व्यहोरेको थियो । कप्तान हिशाम शेखले ३२ बलमा ४ चौकाको सहयोगमा ३४ रन बनाए ।

अब्दुल वाहिदले १५ बलमा २५ रन बनाए । आतिफ उर रहेमानले अविजित १६ रन बनाए । ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो ।

ओमानका लागि शिर्ष पाँचका ब्याटरले अर्धशतक बनाएका थिए । मोहम्मद नदिम,जिशान मक्शुद,कश्यप प्रजापती,सोयब खान र जतिन्दर सिंहले अर्धशतकीय ईनिङ खेले । सिंहले ७९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाए । खानले ७० बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए ।

प्रजापतीले ५३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । मक्शुदले ४९ बलमा ५४ रन बनाए । पहिलो विकेटका लागि सिंह र प्रजापतीले १ सय २५ रनको साझेदारी गरेका थिए । नदिमले ३८ बलमा ६ चौका र ४ छक्काको साथमा अविजित ७१ रन बनाए । आयान खान १२ रनमा अविजित रहे ।

साउदी अरेबियाका लागि अतिफ उर रेहमानले ३ तथा अब्दुल वाहिदले २ विकेट लिए । अब्दुल वाइद १ विकेट लिए । यस समूहबाट नेपालले यस अघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । बिहिबार नेपाल र कतारबीचको खेल पश्चात यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

Facebook Comments Box