सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको घोषणा

काठमाडौँ, २५ चैत – काठमाडौं महानपालिकाका मेयर बालेन्द्र साहले देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्। उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै मेयर साहले यो घोषणा गरेका हुन्।

साह मेयरमा निर्वाचित भएलगत्तै धादिङको बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर फ्याँक्ने काममा स्थानीय दलका कार्यकर्ताले नै अवरोध गरेका थिए। यस पटक पनि अवरोध सुरू हुन थालेको छ। यस्तोमा संघीय सरकारको सहयोग खोजिरहेका बालेन एक्लै परेपछि उनी आक्रोशित भएका हुन्।

पछिल्लो समय थापाथली र तीनकुनेको बागमती किनारमा अवैध रूपमा बसेका सुकुम्बासी हटाउन पनि संघीय सरकारबाट बालेनलाई सहयोग मिलिरहेको छैन। यस्तोमा उनले स्थानीय सरकारले संकलन गर्दै आएको सिंहदरबारको फोहोर नउठाउने घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन’, उनले भनेका छन्, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

Facebook Comments Box