पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने निर्णय

विराटनगर, २४ चैत – केही दिनदेखि पार्किङको समस्या झेलिरहेको विराटनगर महानगरपालिकाले पार्किङस्थललाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ । पार्किङको विषय लिएर व्यवसायी र महानगरपालिकाबीच केही दिनदेखि तनाव देखिएको थियो ।

महानगरपालिकाले आज सरोकारवालासहितको उपस्थितिमा भएको बैठकमा यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो । यसअघि जलजलाचोकबाट ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

यसअघि कार्यान्वयनमा ल्याएका पार्किङस्थलमा भौतिक संरचना थप गरी प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको छ । त्यस्तै जलजला चोकबाट प्रहरी नायव उपरीक्षक कार्यालयसम्म भने पार्किङस्थल निश्चित भएपछि ‘नो पार्किङ’को निर्णयलाई कार्यान्वयनमा ल्याइने भएको छ ।

बैठकले यसअघि तोकिएका पार्किङस्थल व्यवस्थित गर्दै भौतिक पूर्वाधार थप गरी सिसी क्यामेरा र बत्ती जडान गरी सुरक्षित तथा व्यवस्थित बनाउने निर्णय गरेको छ । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा भएको बैठकले पार्किङस्थललाई जतिसक्दो छिटो व्यवस्थित गरी नो पार्किङलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ ।

साथै बैंक तथा वित्तीय संस्था, अस्पताल, होटल, सरोकारवाला संस्थाहरूले आफ्नो पार्किङको आफैँ व्यवस्थापन गर्न पत्राचार गर्ने निर्णय भएको महानगरका प्रवक्ता सन्तोष न्यौपानेले जानकारी दिनुभयो । तोकिएका स्थानको पार्किङलाई व्यवस्थित बनाउन शनिबारदेखि नै लाग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । बैठकमा प्रमुख कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा महानगर लागिपरेकाले सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

बैठकमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष दीपक पौडेल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार सङ्घका उपाध्यक्ष अनिल साह, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्री, उपाध्यक्ष प्रमोद अग्रवाल, खुद्रा व्यापार सङ्घका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल, उपाध्यक्ष अञ्जय मिश्रलगायतले महानगरको अभियानमा आफूहरूले साथ दिने प्रतिबद्धता जनाउँदै पार्किङलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा खुद्रा व्यापार सङ्घले पार्किङलाई व्यवस्थित बनाउनुपर्ने, स्वदेशी बजारको प्रवद्र्धनमा लाग्नुपर्ने, जोगबनी नाकामा कडाइ गर्नुपर्नेलगायतका माग राखेर महानगरका प्रमुख कोइरालालाई ज्ञापनपत्रसमेत बुझाएको थियो । पार्किङको विषय लिएर केही दिनदेखि व्यवसायीले बजार बन्द गर्ने, नारा जुलुस निकाल्नेजस्ता गतिविधि गर्दै आएका थिए ।

Facebook Comments Box